रुपन्देही । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट मंगलबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेका लिला गिरी नेतृत्वको सरकारले विश्वास गुमाएसँगै लुम्बिनी प्रदेशसभाका कांग्रेस संदीय दलका नेता चौधरी नयाँ मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका हुन् ।
संविधान धारा १६८ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका हुन् । उलाई कांग्रेससहितका ८ दल र १ जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रमा विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्थाअनुरुप मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासका मत लिन लागेका हुन् । त्यसका लागि लुम्बिनीका सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् ।
दाङको ३ (१) बाट निर्वाचित चौधरीले शुक्रबार शपथ लिएका थिए । उनीसँगै तीन विनाविभागीय मन्त्रीले शपथ लिएका थिएर बाँकी मन्त्रालय रिक्त रहेको अवस्था छ । शुक्रबार नै मन्त्री बनेका माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि नियुक्त मन्त्रीको जिम्मेवारी र अन्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री चौधरीको तयारी छ ।




















प्रतिक्रिया