काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।
सुशासनका लागि सामाजिक अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले नक्कली भुटानीसरणार्थी प्रकरणमा संलग्नता रहेकाहरूमाथि गहन अनुसन्धान गरी दोषी प्रमाणित भएका ठूला-साना सबैलाई कडा कारबाही हुनुपर्ने बताए ।
अक्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमेत बेलाबेलामा भ्रष्टाचारमा मुछिएको बताउँदै महरले अहले पनि अक्तियारको खुट्टा धर्मराएको हो कि भन्दै प्रश्न गरे ? काण्डै-काण्ड र महाकाण्ड जस्ता पुस्तकमा नेपालको भ्रष्टाचारका काण्डहरू पर्दाफास गरिसकेका उनले भ्रष्टाचारीका कारण नेपाली समाजमा इमानदार मानिस निरीह बन्नुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे ।
‘भ्रष्टाचारका कारण देशको सुशासनको अवस्था कमजोर मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा देशको निर्लज्ज हुनुपर्ने अवस्था सिर्जना भएको छ । चालु संसदमा सांसदहरूले भत्तामात्रै पकाउनु भन्दा भ्रष्टाचार नियन्त्रणसम्बन्धी आवश्यक कानुन निर्माण गर्नुपर्छ । सम्बन्धितनिकायले दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुँदैन’, महरले बताए ।
उनले मुलुक विकास हुन नसक्नुको प्रमुख कारण नै भ्रष्टाचार र अनियमितता भएको बताए । नेताहरू सच्चिँदै भ्रष्ट कर्मचारीहरूलाई कडाभन्दा कडा कारबाही गरिनु पर्ने उनको भनाइ छ ।




















प्रतिक्रिया