Logo

प्रमुख समाचार

टोपबहादुर रायमाझीको सांसद पद के हुन्छ ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद के हुन्छ ? भन्ने आम चासोको बिषय बनेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए । मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन् । प्रहरी हिरासतमा रहे पनि उनको सांसद पद यथावत रहनेछ ।

वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए । वैशाख ३१ गते रायमाझीलाई बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार प्रहरी प्रधान कार्यालयले रायमाझी पक्राउ परेको सूचना संसद सचिवालयमा पठाउनुपर्नेछ । त्यसपछि सभामुखले प्रतिनिधिसभा बैठकमा सूचना सुनाउनेछन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८(३) अनुसार सांसदहरु फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्नेछन् । ‘कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि त्यसको जानकारी संसदलाई दिनुपर्छ । त्यसपछि मात्रै अरू निलम्बनको प्रकिया अघि बढ्ने हो, प्रतिनिधिसभाका पूर्व सचिव गोपाल योगीले भने, संसदको अधिवेशन चलिरहेको अवस्थामा सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ भने अधिवेशन नरहेको अवस्थामा सूचना टाँसेर जानकारी गराउने प्रावधान छ’, पूर्व सचिव योगीले बताए ।

प्रतिनिधिसभा नियमावली २०७५ मा सांसदहरु हिरासतमा पर्नेबित्तिकै निलम्बन हुने व्यवस्था थियो । तर ४ मंसिरको चुनावपछि नयाँ प्रतिनिधिसभा गठन भएपछि प्रतिनिधिसभा नियमावली २०७९ बनाउँदा पुरानो व्यवस्था परिवर्तन गरेर पुर्पक्षका लागि थुनामा गएपछि मात्रै सांसद पदबाट निलम्बन हुने व्यवस्था राखिएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १३:३५   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।