Logo

राजनीति

नागरिक उन्मुक्ति पार्टीद्धारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ-‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं ।’ नागरिक उन्मुक्ति पार्टीले विगतमा थुप्रै घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिइएको जनाएको छ ।

टीकापुरसहित मधेस आन्दोलनका क्रममा भएका ज्यादती र त्यसको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

विज्ञप्तिमा भनिएको छ, ‘सीके राउत होस् वा विप्लव सबै राजनीतिक घटना मानेर सबैलाई मूलधारको राजनीतिमा ल्याएको छ । टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन, अहिलेको सरकारले किन बनाउन चाहेन हाम्रो (नाउपाको) चिन्ताको विषय यहाँ हो ।’  मंगलबारको सर्वोच्च अदालतको फैसला स्वीकार्य भए पनि राजनीतिक मुद्दा अदालती नभएको नागरिक उन्मुक्ति पार्टीको भनाइ छ ।

मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सदर गरेको थियो ।

‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १५:०३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।