Logo

प्रमुख समाचार

सिन्दूर पुछ्न लगाएर बनाइने राष्ट्रिय परिचयपत्र फाल्दिए हुन्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको संस्कृति र सभ्यतामाथि हमला भइरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय परिचयपत्र लिँदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै उनले आपत्ति जनाए । पार्टीको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने उल्लेख गरे ।

‘नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको छ । हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको छ । सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हो’, त्यसअघि ओलीले भने, ‘राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ । त्यहाँ पानी पनि राखिदिएको हुन्छ, रुमाल राखिएको हुन्छ पुछ्नलाई । विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ ।’

पूर्वप्रधानमन्त्री ओलीले अरुकाे नक्कल गर्न आवश्यक नहुने बताए । ‘पुरुषले पनि टोपी खोल्नुपर्ने रे । टाई लाउनुपर्ने हो कि ? अरूका जे कुरा छन् त्यसको नक्कल गर्नुपर्ने कुनै आवश्यकता छैन । भारतका पञ्जाबीले कतै पनि फेटा खोल्नु पर्दैन । जहाँ पनि लगाउन सक्छन् । टोपी पनि हाम्रो पहिचान हो । टोपी लगाउँदा किन मान्यता नपाउने ? कसैलाई लाग्दैन भने नलगाओस्, तर मन लाग्नेले लगाउन पाउनुपर्छ’, उनले भने, ‘कुन धर्ममा सिन्दूर लगाइँदैन त्यही हामीले पछ्याउनुपर्ने ? हाम्रोमा श्रीमान् वरण गर्दा सिन्दूर लगाइन्छ । श्रीमान् मर्दा सिन्दूर पुछिन्छ । पुछिनुको अर्थ विधवा हुनु हो । श्रीमान् हुँदासम्म पोते निकालिँदैन, चुरा फुटाइँदैन, सिन्दूर पुछिँदैन । कसका निर्देशनमा बनाइन्छ कानून ? पोते किन खोल्नुपर्‍यो ? लगाएको सिन्दूर किन पखाल्नुपर्‍यो ? सिन्दूरसहित हुँदा के खराबी हुन्छ ? परिचयपत्र होस कि नागरिकता होस । जे सुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनुपर्छ ।’

अहिले बहस भइरहेको सांसदहरूको पोशाकसम्बन्धी विषयमा पनि ओलीले टिप्पणी गरे । उनले स्वीमिङ पुलमा लगाउँदा हुने, संसदमा किन नहुने भनियो भने त्यो शोभनीय नहुने बताए । ‘मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ’, उनले भने, ‘स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन । बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ ? स्वतन्त्रताका नाममा यस्ता कुरा गर्नुहुन्न ।’

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार १४:३१   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।