काठमाडौं । टिकापुर घटनामा जन्मकैद भोगिरहेका रेशम चौधरीलाई कैद मिनाहा गर्दै जेलमुक्त गर्ने गरी सरकारले राष्ट्रपति कार्यालयमा पठाएको पत्र राष्ट्रपति कार्यालयबाट फेरि गृहमन्त्रालयमै फिर्ता भएको छ।
प्रचलित कानून, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानून बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो। टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो ।
चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । उनले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।




















प्रतिक्रिया