काठमाडाैं । प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै साँझ ६ बजे बस्ने भएको छ । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्काे सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको सङ्घीय सचिवालयले जनाएको छ ।
प्रतनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरुद्ध गरेपछि अपराह्न १२ः४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको जनाएको हो । आजै बसेको अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेकाे थियो ।
बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताए।
सभामुख घिमिरेले आसनग्रहण गर्न पटकपटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए । करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि बैठक २० मिनेटका लागि स्थगित गरिएकाे थियाे ।
नेताहरुका अनुसार एमालेले माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।
कुनै हालतमा माओवादी सांसदले माफी माग्नुपर्ने एमालेको अडानका कारण सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसले मध्यमार्गी प्रस्ताव गरेको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक रमेश लेखकले पशुपतिको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान जारी रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली माथिको आरोप उचित नरहेको भनेर जाने गरी मध्यमार्गी प्रस्ताव गरेका छन् ।
यसो गर्दा एमालेले लिँदै आएको अडान अनुसार माफी मागेको भान पनि पर्न जाने र माओवादी केन्द्रले अनुसन्धान जारी रहेको विषयमा बोलेका कारण कम्प्रमाइज गर्न परेको रुपमा बुझ्दा हुने कांग्रेसको तर्क छ। यसमा पनि एमाले र माओवादी केन्द्र सहमत भएका छैनन् ।
सर्वदलीय बैठक जारी छ।




















प्रतिक्रिया