Logo

अर्थ

लुम्बिनी केबलकार उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल जान लागेका हुन् ।

जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन गर्न लागिएको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तब्य बनेको छ ।

बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको २०७७ साल फागुन १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । केबलकारको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ ।

केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एक बाकसमा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन् । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले नेता विष्णु पौडेललगायत सहभागी हुनेछन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १०:२७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।