Logo

अन्तर्राष्ट्रिय

फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो, नेपाली फुटबलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो



काठमाडौँ । नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग भएको छलफलपछि निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिएका छन्।

स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएको बताए। निर्वाचन कुन प्रक्रियाबाट र कसरी गर्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ। यसबारे फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ।

‘अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ। तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ,’ उनले भने।

एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम कमिटी बनाएर अघि बढ्ने भन्ने विषयमा सहमति जुट्न बाँकी रहेको उनले बताए।

उनका अनुसार नेपाली फुटबलमा सरकारको भूमिकालाई फिफाले यसअघि तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझेको थियो। तर, छलफलका क्रममा सरकारले नेपालको कानुन र राज्यको अधिकारअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्ने तथा फुटबल संघको आन्तरिक काममा हस्तक्षेप नगर्ने स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको हो।

थाइल्यान्ड भ्रमणका क्रममा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तासमेत दिएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार १०:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।