काठमाडौ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ।
लुम्बिनी र सुदूरपश्चिम लगातार दोस्रोपटक प्रतियोगिताको फाइनल खेल्न लागेका हुन् । गत सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई नै हराउँदै उपाधि हात पारेको थियो । जारी सिजनमा पनि यी २ टोलीले यसअघि २ खेल खेलेकोमा दुबै खेलमा लुम्बिनी विजयी भएको थियो ।
पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम प्रतियोगिताको उद्घाटन खेलमा ७ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेल सुदूरपश्चिम रोयल्सका लागि यसअघि लुम्बिनीसँग लगातार ब्यहोरेका तीन खेलको हारको बदला लिने मौका हो ।
सुदूरपश्चिम प्रतियोगिताको लगातार तेस्रो पटक फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन । त्यसैले यसपटक सुदूरपश्चिमका लागि लुम्बिनीलाई हराउने मात्र होइन उपाधि जित्ने मौका पनि मिलेको छ ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित पहिलो स्थानमा रहँदै पहिलो क्वालिफायर जितेर फाइनल पुगेको हो भने सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चिवतनलाई हराउँदै फाइनलमा पुगेको हो ।
दुबै टोलीका कप्तानले फाइनल खेल जित्नका लागि आ आफ्नो टोली सक्षम रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।




















प्रतिक्रिया