काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटमा संशोधन गर्नुपर्ने अवस्था हुँदेमा सरकार नै असफल हुन्छ भन्ने नहुने बताएकी छन् । उनले आवश्यकता परेको अवस्थामा सरकारले बजेट संशोधन गर्न पनि सक्ने र त्यस्तो नभएमा पनि आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।
मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले बजेट संशोधन गर्नुपर्ने अवस्था भए सरकार असफल हुने र सरकार ढल्छ भन्ने बुझाई गलत भएको दाबी गरिन् । ‘सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्नै मिल्दैन भन्ने बुझाई गलत हो । बजेट संशोधन गर्नुपर्ने अवस्था हुँदैमा सरकार असफल हुने भन्ने हुँदैन । पहिलेका सरकारले ल्याएका बजेटमा पनि सबैको चित्त बुझेको भन्ने छैन,’ मन्त्री शर्माले अगाडि भनिन्, ‘हामीलाई थाहै छ, पहिले एउटै पार्टी नेकपा हुँदासमेत बजेटका विषयमा संसद्मा असन्तुष्टिहरू आएकै हुन् । असन्तुष्टि आउने कुरा स्वाभाविक पनि हो ।’
मन्त्री शर्माले बजेट संशोधन गर्नुपर्ने अवस्थाका लागि समेत सरकार तयार रहेको बताइन् । ‘बजेट संशोधन गर्न मिल्दैन भन्ने बुझाई परम्परागत हो, त्यस्तो कानुनमा लेखिएको कुरा होइन, विगतमा पनि बजेटमा संशोधन भएको थियो, बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला,’ उनले भनिन्, ‘अहिले पनि कमा, फुलस्टपसमेत संशोधन हुँदैन भनेर जसरी प्रचार भइरहेको छ, यो गलत छ ।’
बजेटमा सत्तारुढ दलहरुकै सांसदहरुले विरोध गरिरहेका छन् । खासगरी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुले बजेट प्रधानमन्त्री र मन्त्रीहरुको क्षेत्रमा मात्र धेरै पारिएको भन्दै असन्तुष्टि जनाएका छन् । सत्ता साझेदारहरुकै असन्तुष्टिपछि सरकारले बजेट संशोधन गर्न सक्ने बताइएको छ ।




















प्रतिक्रिया