Logo

अर्थ

नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, गृहमन्त्री श्रेष्ठले ताने बल



काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आज बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आईपीओ काठमाडौंको ठमेलस्थित होटेल अलफ्टमा बाँडफाँट गरिएको हो ।

आईपीओ बाँडफाँट कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । नेपाल सरकारका गृहमन्त्रीसमेत रहेका श्रेष्ठले नै आईपीओ लागि बल पनि तानेका थिए ।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार आईपीओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक मात्र सेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर र बाँकी ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कित्ता सेयर पाएका छन् । यस हिसाबले सदर आवेदकमध्ये ८ लाख ६५ हजार ५८० आवेदकको हात खाली भएको छ।

मागभन्दा ३.७ गुणाले बढी आवेदन पारीको कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।

यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो ।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक, धितोपत्र निष्कासन गर्ने कम्पनी र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १२:२८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।