Logo

अर्थ

लोकतन्त्र र विधिको शासन विना नागरिकको अधिकार सुनिश्चित हुँदैनः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासन विना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने बताएकाे छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षण कार्यक्रम मन्त्री डा. महतले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने काम नेपाली कांग्रेसले गरेको हो । यस विषयमा नेपाली कांग्रेस चट्टानझै नउभिएको भए अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान सम्भव थिएन । यो सन्देश सशक्त ढंगबाट आम जनमानसमा लैजान जरुरी छ ।’

उनले भने, ‘प्रशिक्षणले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति, यसको इतिहास र संगठनलाई कसरी विस्तार गर्ने, आम आदिवासी जनतालाई नेपाली कांग्रेससँग कसरी र किन जोड्नेबारे प्रशिक्षण कार्यक्रममा योगदान रहनेछ ।’

नेपाली कांग्रेसले समावेशितालाई नेपालको राजनीतिमा प्रवेश गराएको हो, उनले भने, ‘नेपाली कांग्रेसको विधानमा महिला, आदिवासी, जनजाति, मधेश, दलित र कर्णालीलाई समावेशिता सिद्धान्तको हिसाबले पार्टी संरचनामा आरक्षण सुनिश्चित गरेको हो । अरु दल पनि यो बाटोमा हिड्ने परिवेश बन्यो ।’

‘जनजातिभित्र विविध आदिवासी जनजाति जोडिएका छन् । जनजातिसँग जोडिएको संस्कृति, सभ्यता र रितिरिवाजले नेपाललाई समृद्ध बनाएको छ । पूर्वका राई, लिम्बु सुनवार, तराईका सतार, राजवंशी, बागमतिका तामाङ शेर्पा, उपत्यकाका नेवार समुदाय बिना नेपाल पूर्ण हुँदैन’, उनले भने, ‘नेपाली कांग्रेसले यसलाई पूर्णरुपमा अंगिकार गरेको छ । आदिवासी जनजातिको सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरण र सहभागिता नेपाली कांग्रेसको मूलमन्त्र भएको कसैले बिर्सन नहुने बताएका छन् । यो सन्देश हामीले आम आदिवासीका बीचमा लिएर जानुपर्छ ।’

पार्टीको निर्णय ग्रहण गर्न नसक्नु कांग्रेस नेतृत्वको अर्को कमजोरी भएको उनले बताए । उनले भने, ‘यसले जनता अलमलमा परेका छन्, यो अन्योलता चिर्नुपर्छ ।’

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १६:०७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।