आमा,
जब म तिम्रो न्यानो काखमा लुटुपुटु गर्थेँ
तिम्रो काखमै खेल्दै निदाउने गर्थेँ,
तिम्रो काख मेरा लागि विश्वकै सबैभन्दा ठूलो खेल मैदान थियो ।
त्यतिबेला मैले त्यो न्यानो काखको महत्व बुझेकै रहेनछु,
अहिले तिम्रो काखभन्दा ठूलो खाटमा छु, बल्ल तिम्रो काखको महत्व बुझ्दैछु,
यत्तिका समयसम्म पनि तिम्रो काखको न्यानोपनलाई यस खाटले अलिकति पनि अनुभूति गराएको छैन ।
आमा,
झिंगा आएर मेरो शरिरमा बस्दा तिमीले धपाइ दिन्थ्यौ,
तिमी झट्ट उठ्दा म ब्युँझिने हुँ कि भनी संघर्ष गरी घुँडा टेकेर उठ्थ्यौ,
मैले कोलाहल मच्याउँदा आफू जति नै व्यस्त भए पनि मेरो साथ दिन्थ्यौ ।
छटपटी गर्दा तिमीले थकान निन्द्रा त्यागी मलाई रातभर यताउता डुलायौ,
तर आमा,
आज म रातभर छटपटी गर्दा पनि मलाई डुलाउने कोही छैन ।
आज म रातभर रुँदा पनि मलाई साथ दिने कोही छैन।।
आमा,
तिम्रो साथ बिना यहाँ सन्नाटा छाएको छ,
तिम्रो काख बिना यहाँ कोइलीले बिरही गीत गाएको छ । ।
– कवितामार्फत आमाप्रति सम्मान व्यक्त गरिएकाे याे अनुभूति ब्लुम नेपाल स्कुलमा अध्ययनरत छात्रा रञ्जना बास्ताेलाले पठाएकी हुन ।
















प्रतिक्रिया