काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै भने, ‘एक ठाउँमा उभिएर सघाउलान् भनेको त कसरी सिध्याउने भन्नेमा लागेको अनुभूति मैले गरेँ । आफ्नो पार्टीको उम्मेदवार हराउने मात्र होइन विरोधीलाई कसरी जिताउने भनेर लागेका प्रत्यक्ष प्रमाणहरू छन् । ती सबै प्रमाण अनुशासन समितिलाई बुझाइएको छ ।’
चौधरीले यो प्रवृत्तिले पार्टी–पार्टीका रुपमाख नरहन नसक्ने बताए । ‘पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो र उनीहरुलाई पार्टीको उद्धेश्यप्रति जिम्मेवार बनाउन नसक्ने हो भने पार्टी पार्टीका रुपमा रहन सक्दैन ,’ उनले भने । साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा वित्तीय अवस्था पुगेको चौधरीले बताए ।
चौधरीले विदेशमा बस्ने नेपालीहरूले चुनावमा नयाँ पार्टीलाई भोट दिन प्रेरित गरिरहेको बताए । ‘विदेशमा भएका ५०औं लाख नेपाली युवाहरूले पुराना पार्टीका गतिविधिका कारण हामीहरू विदेशिन बाध्य भयौं। ती पार्टीलाई भोट दिने होइन नयाँ पार्टीलाई दिने हो भन्छन्,’ उनले भने।
मुुलुकमा रोजगारी सिर्जना हुन नसक्ने अहिलेको गम्भीर चुनौतीको विषय भएको चौधरीले बताए । ‘अहिले पनि दैनिक दुई हजार भन्दा बढि मानिस रोजगारीका लागि विदेशिनु चुनौतिको विषय हो,’ उनले भने, ‘मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौति हो । जसले नेपालको राजनीति र स्थापित पार्टीप्रतिको दृष्टिकोणमा बदलाव ल्याउन पनि भूमिका खेल्ने गरेको छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’




















प्रतिक्रिया