Logo

राजनीति

पार्टीभित्र चरम गुटबन्दी देखिएको छ : कांग्रेस केन्द्रीय सदस्य पराजुली



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र चरम गुटबन्दी रहेको बताएका छन् । गत मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै उनले एक गुटको नेता कार्यकर्ता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहारसमेत नगर्ने बताए ।

‘पार्टीभित्र चरम गुटबन्दी देखिएको छ। एक गुटको नेता कार्यकर्ता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार देखिँदैन’, नेता पराजुुलीले भने, ‘अरू पार्टीका नेतासँग सुमधुर सम्बन्ध राख्ने तर आफ्ना पार्टीका नेताहरूसँग दुस्मनको जस्तो व्यवहार गरेको देखिन्छ । एक गुटले अर्को गुटको नेतालाई दुस्मनजस्तो व्यवहार गर्छन्।’

गुटबन्दीको आफू पनि सिकार भएको भन्दै अन्तर्घात गर्नेलाई कडा अनुशासनको कारबाही गरिनुपर्ने उनको भनाइ छ । आफू प्रदेशसभा चुनाव लड्न हराउन खोजे पनि मेयर हुँदाका बेला गरेको कामले गर्दा जनताको मतले जित्न सफल भएको उनको भनाइ छ।

उनले पार्टीका शीर्ष नेताको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने पनि बताए । केन्द्रीय नेता पनि महाधिवेशनअघि वडाबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै समावेश गर्न उनले माग गरे।

कांग्रेस प्रदेश र केन्द्रमा सरकारमा भए पनि सुशासनको प्रत्याभूति नभएको उनले बताए। ‘जनउत्तरदायी काम गर्न ढिला गर्न हुन्न,’ उनले भने, ‘सरकारको नेतृत्व माओवादीले गरेको छ । राम्रो काम जति उसले जस लिने, नराम्रा कुरा भने कांग्रेस थाप्लोमा आउने परिस्थितिबारे समीक्षा आवश्यक छ ।’

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १२:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।