काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।
सर्वोच्च अदालतले कोशी सरकार गठन विवादमा संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएको भन्दै मुद्दा सर्वोच्चकै पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।
कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि एमाले संसदीय दलका नेता कार्कीले रिट निवेदन दर्ता गराएका हुन् ।
उनले सभामुखको हस्ताक्षर प्रयोग गरी बहुमत जुटाइएको भन्दै सरकार गठन प्रक्रिया नै बदरभागी रहेको जिकिर रिट निवेदनमा गरेका छन् ।




















प्रतिक्रिया