Logo

प्रमुख समाचार

सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीमै विशेष कार्यालय



सय किलो सुन तस्करी प्रकरणमा पक्राउ अभियुक्तविरुद्ध हालसम्म राजस्व चुहावटअन्तर्गत अभियोगमा मात्रै अनुसन्धान भएकोमा अब अवैध सुन चोरी–पैठारी तथा संगठित अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ ।

राजस्व अनुसन्धान विभागबाट कागजातसहित अभियुक्तको जिम्मा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘विशेष कार्यालय’ नै खोलेर एसपी सञ्जयसिंह थापाको नेतृत्वमा विशेष टोली गठन गरी अनुसन्धान गर्न लागेको हो ।

सिआइबी परिसरमै खोलिने ‘विशेष कार्यालय’मा अनुसन्धानका लागि आवश्यक सम्पूर्ण उपकरण जडान गरिँदै छ । दोस्रो तलामा रहने कार्यालयमा उक्त घटनाको अनुसन्धानसँग सम्बन्धितबाहेकका प्रहरी अधिकारीलाई प्रवेश निषेध गरिनेछ । पक्राउ अभियुक्तविरुद्ध सिआइबीले सोही कार्यालयस्थित ‘विशेष कोठा’मा राखेर केरकार गर्नेछ र अनुसन्धान प्रतिवेदन तयार गर्नेछ । एसपी थापा नेतृत्वको विशेष टोलीले मंगलबारबाट अनुसन्धान थाल्ने तयारी छ ।

टोलीमा सिआइबीका उत्कृष्टमध्येका डिएसपी, इन्स्पेक्टर र जुनियर अधिकृत सहभागी छन् । टोलीलाई प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशन दिने काम भने सिआइबीका डिआइजी यज्ञविनोद पोखरेलले गर्नेछन् । अनुसन्धानको सम्पूर्ण नेतृत्व भने सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले नै गर्नेछिन् ।

‘अभियुक्तविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सोमबार नै सात दिनको म्याद थपिदिएको छ । अनुसन्धानको फाइल मंगलबारबाट खोलिन्छ । अन्यमा झैँ प्रहरीले यस घटनामा पनि व्यावसायिक ढंगले अनुसन्धान गर्नेछ । घटनाको ‘कोर एरिया’सम्म पुगेर तथ्य बाहिर ल्याउन प्रहरीको कोसिस रहनेछ,’ एआइजी बज्राचार्यले भनिन् । यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ०९:०७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।