Logo

प्रमुख समाचार

भत्काउन आदेश दिइएकाे टाइगर प्यालेस रिसाेर्ट बिक्री, जिम्मा जमानीमा कांग्रेसका मन्त्री



काठमाडौं । सरकारी जग्गा हडपेको पाइएपछि अदालतलेसमेत भत्काउन आदेश दिइसकेको रुपन्देहीको पाँचतारे होटेल ‘टाइगर प्यालेस रिसोर्ट’ बिक्री गरिएको छ । तिलोत्तमा नगरपालिका कोटिहवास्थित १५ बिघा क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धिप्रसाद सुवेदीले किनेका हुन् ।

मूख्य लगानीकर्ता सुवेदी भए पनि उनीसँगै एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यसमेत जोडिएका छन् । हङकङको सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले सञ्चालन गर्दै आएको यो टाइगर प्यालेस सुवेदीसहित पाँच/छ जना लगानीकर्तामार्फत हङकङमा खडा भएको नेपोलियन टाइगर इन्भेष्टमेन्ट (एलएलसी)ले किनेको हो ।

राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको पाइएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले रिसोर्टले मिचिएको सार्वजनिक जग्गा खाली गर्न फैसला गरेको थियो । अदालतको उक्त फैसलासमेत अवज्ञा गरिरहेको रिसोर्ट अहिले किनबेच भएको हो ।

जटिलता पंछाउने जिम्मा लिने कांग्रेस मन्त्री, लाभकर छल्न किनबेचको ‘डिल’ विदेशमा

अदालतले भवन नै भत्काउन आदेश दिएको टाइगर प्यालेस रिसोर्ट किनबेच भएसँगै यसको स्वामित्व हस्तान्तरणमा भने जटिलता देखिएको छ । सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले सञ्चालन गरेको यो रिसोर्ट निर्माण हुँदादेखि नै विवाद छ । रिसोर्टले सार्वजनिक तथा सरकारी नहर हडपेको भनेर निर्माण सुरु गर्दा नै स्थानीयले विरोध गरेका थिए, तर त्यसलाई नजरअन्दाज गर्दै लगानीकर्ताले निर्माण अघि बढाए ।

सार्वजनिक जग्गा मिचेर रिसोर्ट बनाइएकोले त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले पछि अदालतमा मुद्दा नै दायर गरे । मुद्दाउपर जिल्ला अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले रिसोर्टले मिचेको सार्वजनिक जग्गा खाली गर्न परेको मागदाबी अनुसार हुनेगरी फैसला गरेको थियो ।

रिसार्टले २३ कठ्ठा सरकारी जग्गामा दर्जनौँ संरचना बनाएको छ । जसमा क्यासिनो, सभाहल, स्विमिङ पुल, रेष्टुराँसमेत छन् । अदालतको आदेशसँगै सरकारी जग्गामा बनेका सबै संरचना भत्काउनुपर्ने भएपनि रिसोर्टले अझै अटेरी गरिरहेको छ । मुद्दा अहिले पनि उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधीन छ ।

यस्ता अनेकन् उल्झनमा फसेको रिसोर्टलाई चोख्याउने जिम्मा भने सत्ता साझेदार नेपाली कांग्रेसबाट सरकारमा रहेका एक सिनियर मन्त्रीले लिएका उच्च स्रोतको दाबी छ । लाभकर छल्ने गरी किनबेचको ‘डिल’समेत विदेशमा भएको स्रोत बताउँछ । स्रोतका अनुसार सबै जटिलताबाट मुक्त गराउने जिम्मा कांग्रेसबाट सरकारमा गएका एक सिनियर मन्त्रीले लिएपछि ओमनमा किनबेचको डिल भएको हो । स्रोत भन्छ, ‘यो डिल ओमानमा भएको छ । सरकारमा रहेका कांग्रेसका सिनियर एक मन्त्रीले नै काँध थापेपछि काम नहुने त कुरै भएन ।’

उनका अनुसार ती मन्त्रीले भइपरी आउने सबै समस्याको समाधान आफूले गरिदिने बताएका छन् । यसका लागि ती मन्त्रीले मोटै रकम हात पारेकोसमेत स्रोतको दाबी छ । स्रोत भन्छ, ‘यो त सोधिरहने कुनै होइन । अदालतको आदेशसमेत लत्याइएको यो मुद्दालाई पैसा बाहेक अरु कसैले पनि मिलाउन सक्दैन ।’

बैंकहरुले लगानी विवादमा

१५ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब ५ अर्ब रूपैयाँ लगानी रहेको छ । उक्त रिसोर्टमा नेपाली बैंकहरूको लगानी रहेको छ । रिसोर्टमा प्राइम बैंकले २ अर्ब ५० करोड ऋण लगानी गरेको छ । तर यो पनि विवादमा तानिएको छ ।

राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले दायर गरेको मुद्दामा जिल्ला अदालत रुपन्देहीले आदेश दिएपछि बैंकको ऋणसमेत विवादमा परिरहेको हो ।

सरकारी जमीन अतिक्रमण गरेको रिसोर्टमा प्राइम बैंकले कसरी लगानी गर्न पुग्यो भन्ने रहस्यमै छ । प्राइम बाहेक बाँकी २ अर्ब ५० करोड विदेशीको लगानी रहेको छ ।

कनेक्सन क्विन्टल सुन प्ररकणसम्म हुन सक्ने आशंका

साउन २ गते राति त्रिभुवन विमानस्थलबाट बरामद क्विन्टल सुन प्रकरणमा समेत रिसोर्ट किनबेच गर्ने टोलीको संलग्नता आंका गरिएको छ । हङकङबाट ‘ब्रके शू’भित्र लुकाएर हङकङबाट उक्त सुन ल्याइएको थियो । यसमा हङकङसहित चीन र भारतको कनेक्सन देखिएको छ ।

यही मेसोमा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि पनि मुछिएको आशंका गरिएको छ । उच्च स्रोतका अनुसार सुनको व्यापार र यो कम्पनीको खरिद प्रक्रिया सँगसँगै भएको पाइएको छ । उच्च स्रोत भन्छ, ‘बहुआयामिक सौदा झल्किएकाले यहाँ सुनको नेक्सस खोज्न सकिन्छ ।’

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:५६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।