Logo

प्रमुख समाचार

सुन तस्कर दावासहित ३ सय ५० को अनुसूची गायव



काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताका सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले नागरिकता महाशाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सह सचिव नारायणप्रसाद भट्टराईका अनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले गृह मन्त्रालयमा बुझाएको अनुसूची गायव पारिएका दावा लामासहित ३ सय ५० जनाको नागरिकताका सन्दर्भमा गठन गरिएको छानबिन समितिले आवश्यक छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट एकजना प्रतिनिधि राखिएको छ । तत्कालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट बुझाइएको प्रतिवेदनमा दावा छिरिङ भनिने निमा तामाङसहित ३ सय ५० जनाको समेत अनुसूची फेला नपरेको उल्लेख छ ।

समितिले प्रतिवेदन बुझाएपछि नागरिकताका सन्दर्भमा देखिएका अन्य विषयहरूमाथि के गर्ने भन्ने निर्णय लिइने जानकारी दिँदै प्रवक्ता भट्टराईले भने– ‘छानबिनका क्रममा नक्कली कागजात बुझाएर नागरिकता लिने र दिने प्रकरणमा संलग्नहरूलाई कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने छ ।’

जिल्लामा कार्यरत रहँदाको समयमा अनुसूची गायव बनाउन मुख्य भूमिका खेल्ने तत्कालीन समयका नागरिकता फाँटमा कार्यरत नायव सुब्बा रामचन्द्र अर्याल, अधिकृत भुपेन्द्र पाण्डेय र झपेन्द्रराज खरेलमाथि पनि अनुसन्धान हुने भएको छ । झपेन्द्रराज खरेल हाल मेलम्ची नगरपालिका सिन्धुपाल्चोकमा कार्यरत छन् भने अर्याल धादिङको स्थानीय तहमा कार्यरत छन् । भुपेन्द्र पाण्डेय बढुवासँगै लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् ।

सुब्बा अर्यालको डिजाइनमा दुवै अधिकृतले हस्ताक्षर गरेको स्रोतको भनाइ छ । यद्यपि, अभिलेखमा भएकाले अनुसूची बिना नागरिकतामा हस्ताक्षर नगरेको दुवै अधिकृतले दाबी गरेका छन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ०९:४५   :  बजे

408
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।