Logo

राजनीति

सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपाको आपत्ति



 काठमाडौं । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले आपत्ति जनाएको छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा राख्दै राजनीतिक सन्दर्भ परिवर्तन भइसकेको अवस्थामा त्यस प्रकारको सम्झौता हुनु दु:खद् भएको जनाएको छ ।

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँचबुँदे सहमति भएको थियो । आज शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले त्यो सहमतिप्रति आपत्ति जनाएको हो ।

जसपाले भने सो घटना हुनुमा तत्कालीन माओवादीको मधेशमुक्ति मोर्चाका महासचिव प्रभु साह दोषी रहेको दाबी गरेको छ । विभिन्न स्थानमा माओवादीले आफ्ना सभाहरुमा आक्रमण गरेको र गौरमा १२ दिनअघि नै कार्यक्रम गर्न स्थानीय प्रशासनबाट स्वीकृत लिए पनि माओवादीले त्यसको २ दिनअघि सो स्थानमा कार्यक्रम राखेर भीडन्तको अवस्था सिर्जना गरेको जसपाले बताएको छ ।

उनले गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्न पनि माग गरे । जसपाले गौर हत्या काण्डका बारेमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति छानबिन गर्न पनि माग गरेको छ ।

जसपा नेता राजकिशोर यादवले गौर घटनामा संलग्न रहेको आरोपमा आफ्ना नेताहरुमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको र नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए ।

२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा भएको घटनामा २७ जना मरिएका थिए । माओवादी र तत्कालीन मधेश जनाधिकार फोरमबीच झडप भएको थियो । त्यस घटनामा संलग्न रहेका भनिएका विभिन्न व्यक्तिहरु जसपाको विभिन्न कमिटीको नेतृत्वमा रहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १५:५३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।