काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा हुने छानबिनमा आफ्नो सहयोग रहने बताएका छन् ।
युरोपको भ्रमणको छोट्याएर सोमबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा आफूले गल्ती नगरेको दाबी गरे ।
‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ’, पूर्व प्रधानमन्त्री नेपालले भने, ‘बालुवाटार जग्गा प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’ अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गरे ।
उनले आफूले बालुवाटार मास्टर प्लान असल मनसायले अघि बढाएको बताए । ‘मैले नितान्त असल मनासयले अघि बढाएको हो । नेपाल सरकारको जग्गामा नेपाल सरकार हुने गरेको हो,’ नेपालले भने, ‘स्रेस्ता कायम गर्न भनेर राम्रो गरेको हो । सरकारी जग्गा र अन्य जग्गा छुट्टाएर गर्ने, सट्टा गरिने भएको हो ।’
नेपालले त्यसमा नाम नक्कली मोही कसरी पर्यो त्यस विषयमा छानविन हुनुपर्ने बताए ।




















प्रतिक्रिया