विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन् ।
साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ। उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए। गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्यैाल देखिएको छ ।
विपक्षी दल एमालेका सांसदहरू घरायसी समस्या परेको भन्दै सदनमा उपस्थित नहुने भएका छन्। एमालेका ७ सांसद घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन्।
कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले निवेदन दर्ता गराएको जानकारी दिए । उनीहरुमध्ये किशोरचन्द्र दुलाल भने अमेरिकामा छन् । अरु सबैले संसद सचिवालयमा उपिस्थित भइ निवेदन दर्ता गराएको अमात्यले बताए ।
साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (.राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आह्वान गरेका छन्। तर बैठकमा प्रदेशसभामा सदस्य रहेका ९ जना सांसद अनुपस्थित हुने भएपछि मुख्यन्त्री थापाले विश्वासको मत पाउन सकस देखिएको छ।




















प्रतिक्रिया