विराटनगर । संविधानविपरीत विश्वासको मत लिएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमाले सर्वोच्च अदालन जाने भएको छ।
सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको ठहर गर्दै एमाले अदालत जाने भएको हो।
सभामुखको भूमिकामा रहेर प्रदेशसभाको अध्यक्षता गरेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सोमबार प्रदेशसभामा थापालाई विश्वासको मत दिएका थिए।
एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मत लिने नाममा संविधान, कानुन र संसदीय मूल्य मान्यताको हुर्मत लिने काम भएको बताउँछन्।
‘संसदीय अभ्यास र परम्परामा योभन्दा निन्दनीय अरु हुनै सक्दैन,’ उनले भने, ‘मत बराबर नभएको अवस्थामा सभामुखले मतदान गर्नु संविधान, कानुन र संसदीय मर्यादाविपरीत हो।’ भण्डारीले यसविरुद्ध सर्वोच्चमा जाने पनि बताए। उनले भने, ‘प्रदेशसभाभित्र आफ्नो हिसाबले पर्दाफास गर्छौ र कानुनी लडाइँमा पनि जान्छौं।’
मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्च जाने र त्यसको तयारी थालिएको उनले बताए।




















प्रतिक्रिया