Logo

प्रमुख समाचार

सुन तस्करी प्रकरण : उच्चस्तरीय समितिकाे संरचना र कार्यक्षेत्र आज टुंगो लाग्ने



सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका छन् ।

सोमबार राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएको हाे।

उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन ३ सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हीतराज पाण्डे र कांग्रेसबाट रमेश लेखक रहेका छन्।

आज कार्यदलको बैठक बसेर समितिको संरचना र कार्यक्षेत्रबारे टुंगो लगाइने बताइएकाे छ। जसका लागि आज बिहान ११ बजे कार्यदलको बैठक बस्नेछ ।

त्यसपछि मंगलबार नै बस्ने सर्वदलीय बैठकमा औपचारिक सहमति गरिने बुझिएको छ।

उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ।

सत्तारुढ दलहरु एमालेको माग अनुसार उच्चस्तरीय छानविन समिति बनाउन सहमत भएकाले मंगलबारदेखि संसदको अवरोध हट्ने विश्वास छ ।

उच्चस्तरीय समिति बनाउन दलहरु तयार भएपनि सिआईबीको जारी अनुसन्धान सकिएपछि समितिले काम गर्ने कि तत्काल भन्नेमा दलहरुबीच सहमति जुटिसकेको छैन।

उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।