काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाको दोहोरो चरित्रका कारण संयुक्त जनआन्दोलन मोर्चासँगको एकता भाँडिएकाे छ । गत साउन १४ गते पाँच बुँदे समझदारी गरेर १६ गते राष्ट्रिय सभागृहमा ताझामका साथ घोषणा गरिएको एकता थापाको कारण भाँडिएकाे हाे ।
राजतन्त्रको मुद्दालाई अंगाल्ने, मुलुकलाई हिन्दुअधिराज्य बनाउन लागिपर्ने तथा आन्दोलनरत मोर्चाका नेता तथा कार्यकर्तालाई पार्टीमा ससम्मान उचित भूमिका दिने र सडक आन्दोलन गर्ने सहमति भएको भएपनि यो सहमति थापाले कायम नगरेको भन्दै मोर्चाका सयौं नेता कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।मोर्चालाई समाहित गरेपछि मोर्चाका पदाधिकारीलाई समेत बाहिरै राखेर राप्रपा नेपालको पहिलो केन्द्रीय समिति बैठक भोलि (बिहीबार) बोलाएको छ ।
आज (बुधबार) पार्टी कार्यालयमा अनौपचारिक बैठक बसेको थियो । तर बैठकस्थलबाट थापाले सहमति पालना नगरेको भन्दै मोर्चाका नेता कार्यर्ता बिचमै बाहिरिएका थिए । थापाले मोर्चाका अध्यक्ष तारानाथ लुइटेललाई उपाध्यक्ष र सहअध्यक्ष विष्णु भट्टराईले वरिष्ठ नेता बनाउनसम्म भ्याए तर ति बाहेक मोर्चाका अन्य पदाधिकारी तथा नेताहरूलाई उचित जिम्मेवारी अझैसम्म पनि तोकेका छैनन् । त्यस्तै अहिले मोर्चाका अध्यक्ष तरानाथ लुइँटेल र सह अध्यक्ष बिष्णु भट्टराईमाथि समेत गम्भीर प्रश्न उठेको छ। मोर्चाका एक सदस्यले भने,- ‘लुइँटेल र भट्टराईले मोर्चा देखाएर पद लुप्त भए, नत्र पदाधिकरी ब्यबस्थापन गर्ने जिम्मा लिएकाहरुले पहिल्यै सुटुक्क आफ्नो पद सुरक्षित किन गरे त ?’
पार्टी एकीकरण हुँदै गर्दा मोर्चाका सबै पादाधिकारीलाई सम्मानजनक तवरले यथोचित पद स्थापना गरी व्यवस्थापन गर्ने थापा स्वयंले हस्ताक्षर गरेको सम्झौतापत्रमा उल्लेख छ।

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राजतन्त्रको मुद्दा त्यागेका उनले मोर्चासँगको एकतापछि पुन राजतन्त्रलाई सँगै लिएर जाने घोषणा पनि गरेका थिए । तर थापाले एउटा बोलेर अर्कै गर्न थालेको, आन्दोलनका बहानामा सत्तासंग बार्गेनिङ गर्नेबाटो रोजेको, राप्रपा कमजोर बनाउन आफुहरुलाई प्रयोग गरेको भन्दै बिहीबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको तत्कालीन मोर्चाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताए ।
अध्यक्ष थापाले राजसस्थाको मुद्दा बोकेको नाटक गर्दै खोक्रो राष्ट्रवाद देखाएर राजावादीलाई बेबकुफ बनाएको असन्तुष्ट पक्षधरको टिप्पणी छ । ‘कमल थापाले राजाका नाममा फेरि फोहोरी राजनीति गरे । हामीलाई पनि बेबकुफ बनाए’, मोर्चाका अर्का एक पदाधिकारीको भनाइ छ । पछिल्लो समय थापा लिङ्देन नेतृत्वको राप्रपाका नेताद्वय पशुपतिशमशेर राना र डा. प्रकाशचन्द्र लोहोनीलाई प्रभावमा पारेर पुनः राप्रपा हत्याउने गृहकार्यमा लागेको बुझिएको छ ।
अध्यक्षको लडाइँमा थापा लिङ्देनसँग हारेपछि यसको सम्पूर्ण दोष राजालाई लगाउँदै आएका छन् । उनले राजतन्त्रको मुद्दा नै आफुले छोडेको औपचारिक घोषणा नै गरेका थिए । तर मोर्चासँगको एकता घोषणा कार्यक्रममा भने उनले नुनको सोझो गर्न राजतन्त्रलाई देशको अभिभावकका रुपमा लिएर जानुपर्ने बताएका थिए ।
थापाले बुधबार बसेको कार्यसम्पादन समितिको बैठकमा राजाको मुद्दा बोकेपछि आफ्नै घर फर्किएको महसुस भएको र मन हलुँगो भएको भन्न भ्याए । तर उनले लामो समयदेखि आन्दोलनरत राजसंस्था पक्षधरहरुको कार्यक्षमतामाथी अनेकन टिका टिप्पणी गर्दै मनोबल गिराउने काम गरेको मोर्चाका सदस्यहरुको आरोप छ ।




















प्रतिक्रिया