काठमाडाैं । नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसायन विधाकाे नाेबल पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ । ‘क्वान्टम डट’मा उनीहरुले दिएकाे याेगदानलाई कदर गर्दै रसायनशास्त्रतर्फकाे पुरस्कार दिने घाेषणा गरिएकाे हाे ।
‘क्वान्टम डट’ भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन् । तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन् । अनि शल्यक्रिया गर्दा तिनको स्पष्ट प्रकाशले ट्यूमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ । सौर्य प्यानलमा पनि तिनको प्रयोग हुन्छ ।
तीनै वैज्ञानिक संयुक्त राज्य अमेरिकामा कार्यरत छन् । बावेन्डी एमआईटीमा, ब्रुस कोलम्बिया यूनिभर्सिटीमा र एकिमोभ न्यानो क्रिस्टल्स टेक्नोलजी इन्कमा कार्यरत छन् । यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो ।
कोभिड-१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रू भाइस्मानले चिकित्साशास्त्रतर्फ उक्त सम्मानित पुरस्कार पाउने भएका हुन् ।
कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो । तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो । अहिले अरू रोग र क्यान्सरको उपचारका लागि एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ ।
यो वर्ष भौतिक शास्त्रतर्फको पुरस्कार ‘सूक्ष्म कालखण्ड’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल’हुलिएले पाउने भएका हुन् ।
नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो । एक एटोसेकन्ड भनेको एक सेकन्डको १,०००,००,०००,००,०००,००,०००औँ भाग हो ।
यसअघि कसले पाएका थिए
गत वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्प्लेसलाई ‘क्लिक केमिस्ट्री’ पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गरिएको थियो ।
उनीहरूको खोज क्यान्सरविरुद्ध उपचारविधि निर्माण गर्न उपयोगी बनेको थियो। त्यसले सोझै ट्यूमर गराउने कोषहरूलाई लक्ष्य बनाउन सघाएको थियो ।
२०२१: बेन्जामिन लिस्ट र डेभिड म्याक्मिलनलाई एक अर्काको प्रतिबिम्ब हुने अणुहरू निर्माणका लागि
२०२०: एमानुएल शार्पन्टिएर र जेनिफर डाउड्नालाई डीएनए सम्पादन गर्ने प्रविधिका लागि
२०१९: जोन बी गुडइनफ, एम स्टान्ली ह्विटिङहम र अकिरा योशिनोलाई लिथिअम-आयन ब्याट्रीको विकासका लागि
२०१८: अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड र जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरलाई एन्जाइमबारे गरिएका अनुसन्धानका लागि।
२०१७: ज्याक डुबोचे, युआकिन फ्रान्क र रिचर्ड हेन्डर्सनलाई जैविक अणुहरूको तस्बिरलाई परिस्कृत बनाएकाले
२०१६: जीन-पिएर सोभाज, फ्रेजर स्टोडार्ट र बर्नार्ड फेरिङ्गालाई अणुहरूको आकारमा सूक्ष्म यन्त्र बनाएकाले
२०१५: थोमस लिन्डाल, पल मोर्ड्रिच र अजिज सान्चरलाई डीएनए मर्मतको अन्वेषणका लागि।
















प्रतिक्रिया