Logo

राजनीति

प्रधानमन्त्री प्रचण्डले बाेलाएका सर्वदलीय बैठकमा के भयाे ?



काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाेलाएका सर्वदलीय बैठक सकिएकाे छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

सिंहदबारमा आज भएको  बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यावाद ज्ञापन गरेका हुन्। उनले सरकारको प्रयासका कारण बङ्करमा फसेका नेपाली विद्यार्थीको आज उद्धार भइसकेको र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए ।

“चाँडोभन्दा चाँडो सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने राष्ट्रिय दायित्वका हिसाबले सबैलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो”, प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले भने, “सङ्कटको यो समयमा राष्ट्रिय सहमति भयो, सबैको एक स्वर रह्यो, त्यसका लागि प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो ।” बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गरेको कामबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्री दाहालले बोलाएका उक्त बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

याे पनि…

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको सेनाद्वारा उद्धार

इजरायलमा रहेका नेपाली ल्याउन सरकारले जहाज पठाउने

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक घोषणा

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार २०:०५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।