काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको छ ।
खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा सोमबार बिहानदेखि काठमाडौं भित्रिन थाल्ने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् ।
‘सोमबार बिहानदेखि खसी, बोका र च्याङ्ग्रा आउन सुरु गर्छन्, सम्भवत हामी सोमबार दिउँसोदेखि बिक्री थाल्ने छौं,’ उनले थपिन्, ‘खसी, बोका र च्यांग्राको मूल्य भने बिक्री थाल्नु अघि तय गरिनेछ ।’
कम्पनीले पश्चिम नेपाल दाङ, तुल्सीपुर र हेटौँडाबाट खसी बोका ल्याउँदैछ । यता धादिङका केही सहकारीहरूले समेत खसी, बोका सङ्कलन गरेर उपलब्ध गराउने बताएकोमा सम्भव भएसम्म उताबाट समेत केही खसीबोका ल्याइने उनले जानकारी दिइन् ।
यस पटक पनि खाद्य तथा व्यापार कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । २ हजार वटा खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ ।
गत ९ असोज नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।




















प्रतिक्रिया