Logo

प्रमुख समाचार

कोशीमा एमालेलाई बाहिर्‍याउन यस्ताे छ कांग्रेस संस्थापनको रणनीति



काठमाडाैं । कांग्रेसको संस्थापन पक्षले कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सरकार सुरक्षित गर्ने रणनीति तय गरेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका कार्कीले बुधबार विश्वासको मत लिँदै छन् । माओवादीले विश्वासको मत दिने निर्णय लिइसकेको छ ।

कार्कीले एमालेलाई समेत सरकारमा सहभागी बनाएपछि सशंकित देखिएको कांग्रेसको सस्थापन पक्ष पहिलो चरणमा सरकार सुरक्षित गर्ने र दोस्रो चरणमा एमालेलाई सरकारबाहिर गर्ने रणनीतिमा देखिएको छ । सोहीअनुसार विश्वासको मत दिएर सरकारलाई गठबन्धनको अपनत्व दिने गरी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल थालेका छन्।

सोमबार सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई धुम्बाराहीस्थित निवासमा बोलाएर कोशीमा विकसित घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे ब्रिफिङ गरेका छन् । उपसभापति धनराज गुरुङ भने इन्डोनेसियामा रहेकाले बैठकमा उपस्थित भएनन् ।

देउवाले कोशीमा सरकार सुरक्षित गर्ने गरी तत्कालका लागि विश्वासको मत दिने गरी अगाडि बढ्न निर्देशन गरेका छन् । ‘कोशीको विषयमा मैले शेखरजीलाई राखेर कार्यसम्पादन समिति बैठकबाट निर्णय गर्न खोजेको थिएँ । तर, उहाँ आउनुभएन । परिस्थिति आकस्मिक रूपमा विकसित भयो । कांग्रेसकै विद्रोहीको सरकार बने पनि गठबन्धन बलियो बनाएर जाने सहमति बनेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले एमाले सरकारमा छ । जटिलता समाधान गरेर गठबन्धनको अपनत्व हुने गरी कोशीको सेटलमेन्ट गर्नुपर्नेछ ।’

बैठकमा महामन्त्रीद्वयले कोशी प्रकरणमा सभापति देउवा र नेता डा. शेखर कोइरालाको भूमिकाप्रति असन्तुष्टि पोखेका थिए । महामन्त्री शर्माले बैठकमा निर्णय प्रक्रियामा महामन्त्रीद्वयलाई सहभागी नगराई गरिएकाले परिस्थितिको जिम्मेवार सभापति देउवाले लिनुपर्ने बताए । साथै अबको परिस्थितिमा विश्वासको मत दिएर अगाडि बढ्नुको विकल्प नरहेको विषयमा छलफल भएको बताए ।

शर्माका अनुसार निर्णय प्रक्रियाप्रति असन्तुष्टि रहे पनि कोशीमा सरकारलाई विश्वासको मत दिने विषयमा छलफल भएको छ । ‘कोशीको सरकारले विश्वासको मत लिनु छ । कोशीको कांग्रेस संसदीय दलको बैठकले त्यसबारे निर्णय गर्छ । कोशीमा एमालेसहितको समाधान र सरकार बन्नुपर्छ, कांग्रेसले विश्वासको मत दिएर जानुपर्छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०८:१२   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।