काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । कोशी प्रदेशमा असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तालिका ३० औँ दिनसम्म पुग्ने गरेको थियो। तर, एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि मुख्यमन्त्री बनेका कार्की एक साताभित्र विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।
कार्कीलाई सत्तारुढ गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिने देखिएको छ । एमालेले विश्वासको मत दिने पक्का नै छ । राप्रपाले भने विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय गरेको छैन ।




















प्रतिक्रिया