काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनाव लड्न चुनौती दिएका छन् । उनले पूर्वराजा शाहलाई आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् ।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘अस्ति भएको निर्वाचन आफैँमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् । असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ । दुःख उठाउन कहिले जानेको छैन, सुखमा जन्मियो, हुर्कियो, अनि जनतालाई भ्रममा राख्ने कोशिस सफल हुनेछैन ।’
अध्यक्ष नेपालले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्ने कुनै कार्य स्वीकार्य नहुने बताए । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको उनले बताए । ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरू सबै थाहा छ’, उनले भने, ‘त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होशियार हुनुपर्छ । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन ।’
आफूहरु अहिले देशका समस्या पहिचान गर्नेकुरामा अघि बढेका भन्दै यो गठबन्धन ५ वर्षको लागि बनेको बताए । यसलाई भत्काउने अनेक कोसिस भइरहेको भन्दै ती कुनै कोसिस सफल नहुने नेपालको दाबी थियो ।




















प्रतिक्रिया