Logo

राजनीति

‘दशैँको टीका लगाइदिने राष्ट्रपतिकाे कार्यक्रमलाई विहष्कार गरेर ‘पाप-कर्म’को सजायँ दिऊँ’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैँमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका कसैले नलगाउन अपिल गरेका छन् । उनले सामाजिक संजलामार्फत विभिन्न पाँच तर्क प्रस्तुत गर्दै यस्तो अपिल गरेका हुन् ।

राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनुपर्नेमा त्यो हुन नसकेको मिश्रको टिप्पणी छ । गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको तर देशका नभएको उनले बताएका छन् ।

‘अब त झन सबै पार्टीले जटील समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ,’ उनले भनेका छन् ।

हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएको ब्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना उनले उल्लेख गरेका छन् । राष्ट्रपतिले नै दिऊँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरीदिएको भन्दै उनले सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको बताएका छन् ।

मिश्रले अघि सारेका थप तर्कहरू:–

असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादशैँको मुखमा राष्ट्रपतिले गरेको उक्त ‘पाप-कर्म’ आम-जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन। देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन-चुक छर्किने ?

राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आम सर्वसाधारणले वहिष्कार गरेर उनलाई उनको ‘पाप-कर्म’ को नैतिक सजायँ दिऊँ। यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ।
५। हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे। अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो। अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए। अनि जघन्य अपराधीलाई सेटिङ्गमा कैदमाफी दिने हिम्मत कसैको हुँदैन्थ्यो।
त्यसैले फेरी दोहोऱ्याउँ: राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई वहिष्कार गरौँ। उनलाई ‘पाप-कर्म’ को नैतिक सजायाँ दिऊँ र सिङ्गो राजनीतिक वृत्तलाई भद्र अवज्ञाको शक्ति एकपटक देखाइदिऊँ। अति भइसक्यो!

प्रकाशित मिति : ५ कार्तिक २०८०, आईतवार १६:३२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।