Logo

प्रमुख समाचार

गुटेरेससँग प्रधानमन्त्रीको आग्रह– ‘शान्ति मिसनमा नेपालले पुर्‍याएकाे योगदानकाे सम्मान होस्’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा नेपाली सेना र प्रहरीले गरेको योगदान नुसारको सम्मान गर्न आग्रह गरेका छन् । आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको शिष्टाचार भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

चारदिने नेपाल भ्रमणको सिलसिलामा आइतबारै बिहान काठमाडौं आइपुगेका गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

‘उहाँ (गुटेरेस)ले शान्ति सेनामा खटिएका नेपाली सेना र प्रहरीको प्रशंसा गर्नुभयो’, भेटवार्तापछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले गरेको योगदान अनुसार फिल्डमा पनि र हेडक्वाटरमा पनि उचित सम्मान होस् भन्ने कुरा हामीले राख्यौँ ।’

परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटेपछि गुटरेसले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा विशेष गरी जलवायु परिवर्तनका विषयमा गम्भीर छलफल गरिएको उनले बताए । ‘जलवायु परिवर्तनका नेपालमा नकारात्मक परिणाम छन् । त्यसलाई कम गर्न अन्तर्राष्ट्रिय समुदाय र मुख्यतय संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेल्नुभएको भूमिकाको प्रशंसा गर्‍यौँ’, उनले भने ।

आउँदा दिनमा राष्ट्रसंघसँग अझ ठूलो सहयोगको अपेक्षा राखिएको समेत प्रचण्डले बताए । भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा पनि छलफल गरिएको थियो । ‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ, यसलाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा उहाँको भूमिका महत्त्वपूर्ण हुने हामीले कुरा गर्‍यौँ’, उनले भने ।

भेटमा नेपालको आर्थिक विकास र समृद्धिका विषयमा समेत छलफल गरिएको उनले जानकारी गराए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १६:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।