Logo

प्रमुख समाचार

राष्ट्रपति पाैडेलसँग यूएन महासचिव गुटेरेसकाे शिष्टाचार भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति पाैडेलसँग भेट गर्न गुटेरेस आज अपराह्न राष्ट्रपति निवास शीतलनिवास पगेकाे थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा  रहेको संयुक्त राष्ट्रसङ्घलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवाराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १८:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।