Logo

राजनीति

संघीय संसद्काे चालु आज मध्यरातदेखि अन्त्य हुँदै



काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ः०० बजेदेखि समाप्त हुने भएको छ । आजको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार आज राति १२ः०० बजेदेखि संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराए ।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेवल गर्नुभएको थियो । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

यसैगरी राष्ट्रियसभाको १४औँ अधिवेशन पनि आज मध्यरातदेखि अन्त्य हुने भएको छ । अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए । अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्ने अध्यादेश २०८० स्वीकृत भएको थियो ।

सोही अध्यादेशलाई प्रतिस्थापन गर्न राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन दुवै सदनबाट पारित भई प्रमाणित भएको थियो ।

त्यसैगरी, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएका नेपाल विश्वविद्यालय विधेयक २०८०, गैरसरकारी विधेयकको रूपमा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० सभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो । अधिवेशनको अन्तिम दिन आज राष्ट्रिय विद्युतीय व्यापार विधेयक पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सुनाउनुभएको थियो । उहाँले राष्ट्रियसभाको १४औँ अधिवेशन आज राति १२ः०० बजेदेखि स्वतः अन्त्य हुनेगरी बैठकको कारबाही समाप्त भएको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १९:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।