दिल्ली । दिल्लीमा लगातार बिग्रँदै गएको हावा र प्रदूषणको बढ्दो स्तरबारे टिप्पणी गर्दै त्यहाँकाे सर्वोच्च अदालतले ‘यो जनताको स्वास्थ्यको हत्या हो’ भनेको छ।
अदालतले हरेक जाडो मौसममा दिल्लीमा प्रदूषण बढ्नुको कारण छिमेकी राज्य हरियाणा र पञ्जाबमा बालीको अवशेष जलाउनु रहेको बताएको छ। सर्वोच्च अदालतले पञ्जाब सरकारलाई पराल जलाउने घटना रोक्नको लागि कदम चाल्न भनेको छ।
सर्वोच्च अदालतले आजकाे सुनुवाइमा भनेकाे छ कि, “हामी पराल चलाउने काम रोक्न चाहन्छौं। हामीलाई थाहा छैन, तपाईंले यो कसरी गर्नुहुनेछ, तर त्यो तपाईंहरुको काम हो। यो रोक्नुपर्छ। तुरुन्तै केही गर्नुपर्छ।” अब यस विषयमा अर्को शुक्रबार सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले केन्द्र सरकारलाई उत्तर प्रदेश, हरियाणा, राजस्थान, पञ्जाब र दिल्लीसँग बैठक गरेर पराल जलाउने उपायबारे छलफल गर्न भनेको छ।
अदालतले सवारी साधनबाट निस्कने धुवाँमा पनि ध्यान दिनुपर्ने बताएको छ । गाडीबाट निस्कने धुवाँ पनि दिल्लीमा प्रदूषणको प्रमुख कारण हो। पछिल्लो केही दिनयता दिल्लीमा प्रदूषण तीव्र गतिमा बढेको छ । दिल्लीका धेरै क्षेत्रहरूमा AQI (वायु गुणस्तर सूचकांक) ४०० भन्दा माथि छ। दिल्ली अहिले विश्वको सबैभन्दा प्रदूषित सहर हो ।
बिग्रिएको हावाको गुणस्तर सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै अदालतले भन्यो, “दिल्ली यसरी चल्न सक्दैन।” सुनुवाईको क्रममा न्यायधीश कौलले भने कि सप्ताहन्तमा पञ्जाबको आफ्नो भ्रमणको क्रममा उनले धेरै ठाउँमा पराल जलेको देखेका थिए। अदालतले स्थानीय प्रहरी थानाका एसएचओहरूलाई पराल जलाउन रोक्नको लागि खटाउनुपर्ने र डीजीपी र मुख्य सचिवले उनीहरुलाई त्यसकाे जिम्मेवारी दिनुपर्ने उल्लेख गरेकाे छ ।




















प्रतिक्रिया