Logo

राजनीति

दुई महिनाभत्रमा नयाँ संसद् भवन निर्माणकाे काम सक्न सभामुख घिमिरेकाे निर्देशन



काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन सङ्घीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। मंगलबार सहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरूको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् ।

आफ्नो चासो संसद्को आगामी अधिवेशन नयाँ संसद् भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरू दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरे । सभामुख घिमिरेले सबै भवनको निर्माण सम्पन्न नभए पनि बैठक बस्ने दुईवटा बैठक कक्षको प्राविधिक रूपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध गरे ।

त्यसैगरी सभामुख घिमिरेले संसद् भवनमा जडान गरिने प्रविधिहरूको बारेमा प्राविधिकले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताए । उनले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याको बारेमा प्राविधिकहरूले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘प्राविधिक पक्षमा के–के प्रविधिहरू आएका छन्, के प्रविधि हाम्रो लागि प्रयोग हुन्छ, हामीसँग भएको प्रविधि र तपाईँहरूसँग भएको प्रविधिको विषयमा छलफल गर्ने र हाम्रा आवश्यकताहरू त्यो इडिभाइसमा कसरी राख्न सकिन्छ ? आदिजस्ता विषयमा घनिभूत ढङ्गले छलफल गरेर निष्कर्षमा पुगाउनुपर्छ । प्रयोग गर्ने हामीले हो ।’

अब  दुई महिनापछि हिउँदेसत्र नयाँ संसद् भवनमा चलाउन चाहेकाे सभामुख घिमिरेले बताए । उनले भने, “मेरो कन्सर्न के हो भने हामीले कम्तीमा सबै भवनहरू नसके पनि मुख्य भवनलाई सकेर राष्ट्रिय सभा र प्रतिनिधि सभाका मेन हलमा इक्वुइपमेन्ट, डिभाइसहरू फिट गरेर कामहरू गर्ने भनेको दुई महिनाभित्र गर्न सकिन्छ कि सकिँदैन ?” अब हामी दुई महिनापछि हिउँदेसत्र त्यहाँ चलाउन चाहन्छौँ ।”

सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय संसद् भवनमा नयाँ प्रविधि जडान गरिने बताइन् । उनले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिलाई प्राथमिकता दिएर जडान गरिने बताइन् ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले सङ्घीय संसद् भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति भएको बताए । नउले १२ वटा भवनमध्ये ७ वटा भवनको छानासम्मको काम सम्पन्न भइसकेको जानकारी दिए । बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माणलगायत छानाको काम अघि बढिरहेको उनलेब ताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १६:४८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।