काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रधानमन्त्रीको आह्वानमा बसेको शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने दलका शीर्ष नेताहरूको बैठकप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले पछिल्लो समय अराजक र अस्थिरताको प्रवृत्ति देखा परेको भन्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरूबीच आपसी मतभेद भएपनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैप्रति कटाक्ष गर्दै लामिछानेले आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याएर चिसोमा जनता जोगाए ब्यवस्था आफैँ जोगिने बताएका हुन् ।
परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्नो आँखा बिझाएको उनले लेखेका छन् ।
यस्तो छ, स्टाटस्-
आदरणीय ‘सर्वदलीय हेड सरू’ हरु यता सुन्नुस् है,
आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस् । ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।।सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ । जुटाइदिएको पाल,चामल,दाल समयमै बाड्न नसक्ने अनि चिन्ता ब्यवस्थाको, परिवर्तन कोरु तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु,ब्यवस्थामा खतरा छैन,भए पनि जोगाउने जनता छन् । तिनको जीवन रक्षा गरिदिनुस् । परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए ।
नोट: उद्दार कार्य उत्कृष्ट थियो तर राहत बितरण कत्तिपनि सहि भएन ।




















प्रतिक्रिया