रुकुम पश्चिम । जाजरकोट र रुकुमपश्चिम पछिल्लाे समय भूकम्पको विपत्तिमा परेका छन् । त्यहाँ खोज, उद्धारपछि अहिले राहतको काम अहिले तीब्र रुपमा भईरहेको छ ।
बिहीबार कान्तिपुर दैनिकले राहत वितरणका लागि जाजरकाेट पठाइएकाे साेलार प्यानलकाे गाडी राति नै पूर्व अर्थमन्त्री जनार्दन शर्माले निर्देशनमा रुकुम पुर्याइएकाे समाचार प्रकाशित गर्याे । तर रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले भने उक्त समाचार गलत भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
कान्तिपुरकाे समाचारमा ‘भूकम्प राहतमा पूर्व अर्थमन्त्री शर्माको संवेदनहिन राननीति’ शिर्षकमा प्रकाशित उक्त समाचारमा सरकार र विभिन्न सार्वजनिक संघसंस्थाबाट जाजरकोट पठाईएका राहत सामाग्रीका ट्रक पूर्व अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सल्यानको सल्लिबजारबाट मोडेर रुकुमपश्चिमको आठविसकोटमा वितरण गरिएको भन्ने उल्लेख छ । समाचारमा सोलार समेत वितरण गरिएको उल्लेख छ ।
तर जिल्ला प्रशासन कार्यालयले समाचारमा भनिएका सामाग्रीहरु जिल्ला प्रशासन कार्यालयको अभिलेखमा नरहेको र सम्बन्धित स्थानमा समेत वितरण नभएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तीमा जिल्लामा प्राप्त राहतको विवरण प्रशासन कार्यालयमा अभिलेख गरेर मात्र वितरण गर्ने व्यवस्था रहेको उल्लेख छ । यस बिषयमा आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भनाई उद्धत गर्दै जिल्ला प्रशासन कार्यालयले कहिँकतै पनि समाचारमा भनिएका सामाग्रीहरु वितरण नभएको जनाएकाे छ ।
प्रमुख जिल्ला अधिकारी पन्तले विपद्को समयमा यस प्रकार र अन्य प्रकारका समाचारहरु सम्बन्धित निकायबाट आधिकारिकता बुझेर मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।





















प्रतिक्रिया