Logo

प्रमुख समाचार

माइतीघर मण्डलामा निषेधाज्ञा लगाइएकाेविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । काठमाडाैंकाे माइतीघर मण्डलामा निषेधाज्ञा जारी गरिएकाेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको उक्त निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपालले आज (मंगलबार) सर्वाेच्चमा रिट हालेका हुन् ।

रिटमा बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको दाबी गरिएकाे छ । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।

अधिवक्ता नेपालले रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेनिकट युवा संघले माइतीघरमा  बिहीबार (मंसिर ७ गते) एकैदिन जनसभा गर्ने भएपछि सम्भावित मुठभेडलाई ध्यानमा राखेर प्रशासनले निषेधाज्ञा जारी गरेकाे थियाे । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि नै लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १४:५८   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।