काठमाडौं । उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ७ मध्ये ६ जना दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर भएका हुन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए । यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबार फैसला सुनुवाइ सुरु भएको थियो । दिनभरि दुवैतर्फका वकिलहरुको बहस सुनेपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।
जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ सकिएर आज फैसला आएको हो । यसअघि गत असोज ९ गते फैसला सुनुवाइ सुरु भएको थियो । तर, न्यायाधीश उत्तम सिलवालले डाक्टर बोलाउने आदेश दिएर फैसलालाई धकेलिदिएका थिए ।
आफूमाथि आक्रामण भएको केही दिनमा नै चलाउनेले ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले गत ९ साउनमा यो मुद्दालाई यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालतलाई आदेश गरेको थियो ।




















प्रतिक्रिया