Logo

खेलकुद

भारतविरुद्ध अस्ट्रेलियाको पाँच विकेटको रोमाञ्चक जित



काठमाडौं- भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ। योसँगै पाँच खेलको सिरिजमा अस्ट्रेलिया जीवितै रहेको छ। ऊ पहिलो र दोस्रो खेल क्रमशः २ विकेट र ४४ रनले पराजित भएको थियो।

भारतले दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले अविस्मरणीय शतकीय इनिङ खेले। ४८ बलको सामना गरेका उनले ८ छक्का र ८ चौकासहित अविजित १०४ रन बनाए। टी–२० मा क्याक्सवेलको यो चौथो शतक हो।

अन्तिम ओभरका अस्ट्रेलियालाई जितका लागि २१ रन आवश्यक थियो। यो ओभरमा म्याक्सवेलले तीन चौका र एक छक्कासहित १८ तथा कप्तान म्याथ्यू वेडले एक चौकासहित ५ रन जोडे।

अस्ट्रेलियाले अन्तिम २ ओभरमा ४५ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। जसमा वेडले १६ बलमा तीन चौका र एक छक्कासहित कुल २८ रन बनाए। यस्तै, ट्रभिस हेडले ३५, मार्कस स्टोइनिसले १७ र आरोन हार्डीले १६ रनको योगदान दिए। भारतका लागि रवि विश्नोईले दुई, अर्शदीप सिंह, आवेश खान र अक्षर पटेलले एक/एक विकेट लिए।

त्यसअघि गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २२ रन बनायो। उसका लागि ओपनिङ ब्याटर ऋतुराज गायकवाडले शतकीय इनिङ खेले। ५७ बलको सामना गरेका उनले १३ चौका र ७ छक्कासहित अविजित १२३ रन बनाए। टी–२० मा गायकवाडको यो पहिलो शतक हो।

यस्तै, कप्तान सूर्यकुमार यादवले ३९, तिलक वर्माले अविजित ३१ र यशस्वी जैसवालले ६ रन जोडे। अस्ट्रेलियाका लागि आरोन हार्डी, जेसन फेहनड्रोफ र केन रिचडर्सनले एक/एक विकेट लिए। अस्ट्रेलिया र भारतबीचको चौथो टी–२० खेल शुक्रबार हुनेछ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०८:०९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।