काठमाडौं- रोमाञ्चक बनेको पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ। बेंगलुरुमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम ६ बलमा १० रन रक्षा गरे । उनले पहिलो ३ बलमा कुनै रन दिएनन् भने कप्तान म्याथ्यु वेडको विकेट पनि लिए।
अस्ट्रेलियाले अन्तिम ओभरमा ३ रन मात्र बनाउन सक्यो र खेल हार्न पुग्यो। पाँचौँ टी-२० मा जितसँगै भारतले सिरिज ४–१ ले जितेको छ।
चिन्नास्वामी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको टीम इन्डियाले २० ओभरमा १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो।
अस्ट्रेलियाका लागि बेन म्याक डरमोटले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, ट्राभिस हेडले २८ तथा कप्तान म्याथ्यु वेडले २२ रन बनाए। भारतका लागि मुकेश कुमारले ३ तथा अर्शदीप सिंह र रवि विस्नोईले २–२ विकेट लिए।
यसअघि श्रेयर ऐयरको अर्धशतकको मद्दतले भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो। ऐयरले ३७ बलमा ५३ रन बनाए।
त्यस्तै, अक्षर पटेलले ३१ तथा जितेश शर्माले २४ रन हिर्काएका थिए । अस्ट्रेलियाका लागि जेसन बेरेन्डर्फ र बेन ड्वारसिउसले २–२ विकेट लिए।




















प्रतिक्रिया