Logo

प्रमुख समाचार

भिडियोमार्फत प्रश्न सोध्ने रवी लामिछानेको माग सुशासन समितिद्वारा अस्विकार



काठमाडौं । विदेश भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भिडियोमार्फत सुशासन समितिमा प्रश्न सोध्न मागेको अनुमति सुशासन समितिले अस्वीकार गरिदिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले भौतिक उपस्थिति हुन नसक्दा लामिछानेको भिडियोमार्फत प्रश्न सोध्न मागेको अनुमति अस्वीकार गरेको हो । आफूले भिडियोमार्फत प्रश्न सोध्न मागेको अनुमति समितिले अस्विीकार गरेपछि लामिछानेले भने सामाजिक सञ्जाल मार्फत प्रश्नहरु राखेका छन् । विशेषगरी एनसेल काण्डसँग सम्बिन्धित प्रश्नहरु लामिछानेले सार्वजनिक गरेका छन् ।

लामिछाने अहिले कतारमा रहेका छन् । आज सुरु भएको राज्य व्यवस्था तथा सुशासनको बैठकमा लामिछानेले भिडियोमार्फत प्रश्न सोध्न खोजेका थिए । रवी लामिछानेले भिडियो सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन्, ‘म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्।’

उनले संसदको क्यालेण्डर नबनाइएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । उनले थप लेखेका छन्, ‘साथै, हामीले पहिलेदेखि नै संसदको क्यालेन्डर बनाइनु पर्छ भनेर भन्दै आइरहेका छौं । तर, बनेको छैन । जसका कारण कतिपय अवस्थामा यस्ता महत्वपूर्ण बैठकमा हामी सहभागी हुन असमर्थ हुन्छौं। त्यसैले संसदले यसतर्फ ध्यान दिन जरुरी छ। हामीले जाजरकोट भूकम्पका प्रभावितलाई चिसोबाट जोगाइ पुनर्स्थापना र पुनर्निर्माणमा सरकारले तय गरेको नीति र योजनाबारे जानकारी गराउने व्यवस्थाका लागि समितिका सभापतिज्यूको ध्यानाकर्षण पनि गराउदै छौं।’

भिडिओमा लामिछानेले एनसेल शेयर खरिद–बिक्री सम्बन्धमा पाँच सदस्य छानबिन समिति गठन गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । “किन चाहियो हामीलाई हरेक कुरामा समिति,” उनले भनेका छन्, “प्रहरीलाई कारवाही गर्न समिति चाहिने, राजश्व छली पत्ता लगाउन समिति चाहिने, तस्कर समाउन समिति चाहिने, ट्राफिकले लाइसेन्स समात्यो भने पनि हामीलाई समिति चाहिने हो ? कर छली भएको समाचार आएपछि प्रधानमन्त्रीले कर कार्यालयसँग सम्बन्धित निकायलाई बोलाउने हो कि सत्ता गठबन्धनको बैठक बोलाउने हो ?”

छानबिन समितिमा भएका सदस्यमाथि खनिंदै उनले भनेका छन्, “अनि छानबिन गर्ने कसले त भन्दा उनैले जसले महालेखाको ५५ औं प्रतिवेदनमा एनसेलको विवरण नै हटाए । कर छलीको छानबिन गर्न उनैलाई छानियो जसले प्रतिवेदनमै विवरण हटाएर सजिलो पारिदिए ।”

यसअघि नेपालमा रहेका अन्य विभिन्न विदेशी कम्पनीको शेयर खरिदबिक्रीमा आजियाटाका प्रतिनिधि जस्तो राजनीति दलका नेतालाई भेट्न गएको वा लबिङ गरेको कहिले पनि नसुनिएको भन्दै उनले आजियाटाका प्रतिनिधिले राजनीति दललाई घरमै धाएर भेट्नुपर्ने अवस्था किन आयो भनेर समेत प्रश्न राखेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १३:१८   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।