Logo

प्रमुख समाचार

संकल्प यात्रा काेशी प्रवेश गर्नुअघि एमालेले भन्याे : ‘याे पहिचानवादी लक्षित हाेइन, अवराेध नगरिदिनुस्’



विराटनगर । नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध नगर्न पहिचान पक्षधरलाई आग्रह गरेको छ । एमाले प्रसार तथा प्रकाशन विभाग कोशीले पत्रकार सम्मेलनमार्फत संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै बन्द हड्ताल फिर्ता गर्न आग्रह गरेको हाे । कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई लक्षित गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेपछि एमालेले अवराेध नगरिदिन आग्रह गरेकाे हाे ।

एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए । उनले पूर्वनिर्धारित कार्यक्रम भएकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गरे । महासेठले भने, ‘पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम नगर्नुहोला । राष्ट्रिय अभियान निरन्तररुपमा अघि बढिरहेको र चिवाभञ्ज्याङ पुगेरै टुङ्गिन्छ ।’

राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कारण नभएको भन्दै उनले कोशी प्रदेश प्रदेशसभाको दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने बताए ।

एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न आग्रह गरे । उनले भने, ‘दबाबमूलक आन्दोलन गर्ने भए कोशी प्रदेशसभामा केन्द्रीत गर्न अनुरोध छ । एमालेको यात्रामा पहिचानवादीको साइनो सम्बन्ध छैन ।’

मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रीत अभियान आगामी मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्ने कार्यक्रम छ । मंसिर २६ गते पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनकाअनुसार कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको बसन्तपुर र पाँचथरको फिदिममा सभा हुनेछ । अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्ने अध्यक्ष खतिवडाले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १८:५८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।