धनगढी- बीए १५ फुटबल एकेडेमी लम्की र सुदूरपश्चिम ११ स्पोर्टस क्लब एनआरएनए छैटौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन बीए १५ फुटबल एकेडेमीले सशस्त्र प्रहरीलाई हराउँदै र सुदूरपश्चिम ११ ले बाइ पाएर क्वाटरफाइनलमा स्थान बनाएका हुन्।
धनगढी रंगशालामा भएको पहिलो खेलमा बीए १५ फुटबल एकेडेमीले सशस्त्र प्रहरी बल प्रदेश नम्बर ७ लाई २–१ ले हराएको हो। एकेडेमीका लागि विदेशी खेलाडी गुईलामे डीन र विवेक सन्तोषीले एक/एक गोल गरे भने सशस्त्रका लागि गोविन्द सिंहले एक गोल फर्काए।
पहिलो हाफको १४ औं मिनेटमा गोल गर्दै डीनले एकेडेमीलाई अग्रता दिलाएका थिए। २७ औं मिनेटमा सशस्त्रका लागि सिंहले गोल फर्काएपछि खेल १–१ को बराबरीमा आयो। खेलको अतिरिक्त समयको अन्तिम सेकेण्डमा गोल थप्दै एकेडेमीलाई जित दिलाउने सन्तोषी म्यान अफ द म्याच भए।
दोस्रो खेलका लागि भारतीय क्लब सीएफसी कोलकाता अनुपस्थित भएपछि सुदूरपश्चिम ११ बाई पाउँदै अन्तिम आठमा पुगेको छ। क्वाटरफाइनलमा अब सुदूरपश्चिम र बीए १५ फुटबल एकेडेमी प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेल हुनेछन। पहिलो खेल स्टार सिटी युवा क्लब धनगढी र घोडाघोडी युवा क्लब सुख्खडबीच हुनेछ भने दोस्रो पुनर्वास युनाइटेड र आयोजक फारवेष्ट पशुपति युवा क्लब खेल्नेछन्।




















प्रतिक्रिया