काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दूरी कायम राख्न आग्रह गरेका हुन्। हातको सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ।
मन्त्रालयले कोरोनाको नयाँ सङ्क्रमणलाई ध्यानमा राखेर सीमा नाकामा निगरानी तथा हेल्थ डेस्क र सम्पूर्ण सरोकारवालामार्फत आवश्यक तयारी भैरहेको जनाएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम छ। भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावादलगायतका क्षेत्रबाट नेपाल आउनेमा कोरोनाको सङ्क्रमण देखिने गरेको छ।
सङक्रमण देखिनेहरुको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने गरिएको छ। नयाँ भेरिएण्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइन्छ। जेएन वान भारतसहित चीन, अमेरिका, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा फैलिइरहेको छ। तर नेपालमा अहिलेसम्म नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भैसकेको छैन।
डब्ल्यूएचओले हिउँदयाममा कोरोनासहित अन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिँदै आएको छ। कोरोनाभाइरस र श्वासप्रश्वाससम्बन्धी अरु सङ्क्रमणबाट जोगिन भिडभाड भएको र बन्द ठाउँमा मास्क लगाउन, हाछ्युँ र खोकी आउँदा नाकमुख छोप्न, बेलाबेला साबुन पानीले हात धुन, कोभिडको लक्षण देखिए परीक्षण गराउन डब्लूएचओको सुझाव छ।





















प्रतिक्रिया