Logo

खेलकुद

जिम्बाब्वेसामू श्रीलंका पराजित



काठमाडौं- टी–२० सिरिजको दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वेले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ। यससँगै सिरिज १–१ को बराबरीमा आएको छ। ऊ पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा श्रीलंकाले दिएको १ सय ७४ रनको लक्ष्य जिम्बाब्वेले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। जिम्बाब्वेलाई अन्तिम ओभरमा जितका लागि २० रन आवश्यक रहेकोमा उसले एक बल अगावै लक्ष्य पूरा गरेको हो।

उसका लागि क्रेग एर्विनले ५४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७० रन बनाए। यस्तै, ब्रायन बेनेट र ल्यूक जोंग्वेले २५/२५, क्लाइभ मडान्डेले १५ तथा रयान बर्लले १३ र तिनसे काम्हुन्कम्वेले १२ रन जोडे।

श्रीलंकाका लागि महीश थिक्क्षणा र दुश्मन्था चामेराले दुई/दुई तथा वानिन्दु हसरंगा र दिलशान मधुशंकाले एक/एक विकेट हात पारे। त्यसअघि कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो।

उसका लागि चरित अशलंकाले ३९ बलमा ५ चौका र ३ छक्कासहित ६९ तथा एन्जेलो म्याथ्यूजले ५१ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ६६ रनको पारी खेले।

यस्तै, सदीरा सामविक्रमाले १६ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। ​जिम्बाब्वेका लागि ब्लेसिङ मुजारबानी र ल्यूक जोंग्वेले दुई/दुई तथा वेलिंग्टन मसाकाद्जा र रिचर्ड नागरावाले एक/एक विकेट लिए। श्रीलंका र जिम्बाब्वेबीचको निर्णायक तथा तेस्रो खेल बिहीबार हुनेछ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०७:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।