Logo

प्रमुख समाचार

जनकपुर र रौतहटबाट आजपाका ४४ कार्यकर्ता पक्राउ



काठमाडौं- बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ४४ जना नेता-कार्यकर्तालाई जनकपुर र रौतहटबाट प्रहरीले पक्राउ गरेको छ।

जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यस्तै रोतहटबाट आजपाका २१ नेताकार्यकर्ता प्रकाउ परेका छन्। एक दिने मधेस प्रदेश बन्दको प्रभाव भने आंशिकमात्र रहेको छ।

जिल्ला सदरमुकाम गौर बाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगतको तुलनामा कम चलेका छन्। पसल व्यापारिक प्रतिष्ठानहरू पूर्ववत् चलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। जिल्लाको मुख्य बजार गरुडा कटहरियामा पनि साना ठुला पसलहरू सञ्चालनमा रहेका छन्।

कटहरियाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेको छैन।

मधेस बन्द सफल पार्न बिहानै रौतहटको सदरमुकाम गौर, शुकदेव चौक, चन्द्रपुर लगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका २१ जना आजपा कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्। गिरीका अनुसार बन्दको खासै प्रभाव परेको छैन। बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरूले बुधबार साँझ गौर, गरुडा, चन्द्रनिगापुरमा मसाल जुलुस प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ११:११   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।